काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले राष्ट्रपति र पूर्वप्रधानमन्त्रीले काठमाडौंको तीनकुनेको ५० वर्षदेखिको समस्या समाधान नगरेको टिप्पणी गरेका छन् । उनले एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तीनकुनेको समस्या समाधान नगरी कसरी जनतामाझ जानुहुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

बालेनले शनिबार सामाजिक सञ्जालमा एक स्टेटस लेख्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री हुँदासमेत आफ्नो निर्वाचन क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्यालाई समाधान नगरेकोले ‘कुन मुख देखाएर’ जनतासँग भोट माग्न जानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

चुनाव आउन अझै २ महिना बाँकी रहेको र सरकार पनि आफ्नै रहेकोले समस्या समाधान गर्न सुझाव दिएका छन् । उनले भनेका छन्– ‘आदरणीय माधव नेपालज्यु तथा सम्माननिय राष्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो, राष्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।’

बालेनले किन लगाए आरोप ? : तीनकुनेको खाली स्थान पछिल्लो झण्डै ५० वर्षयता त्यही स्वरुपमै रहेको छ । मानिसहरुलाई घाम ताप्ने, साधन सिक्ने र कतिपय दुव्यसनीको अखडा बनिरहँदा पनि सरकारले त्यहाँ कुनै संरचना बनाउन सकेको छैन । यसअघि काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले पार्क बनाउने योजना अघि सारेको भए पनि कुनै काम हुन सकेन । तीनकुनेमा करिब दुई अर्बको लगानीमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने योजना महानगरले अघि सारेको थियो । तर, सरकारले मुआब्जा विवाद समाधान गर्न नसक्दा महानगरको योजना अलपत्र परेको थियो ।

वर्तमान मेयर साहले पछिल्लो समय सार्वजनिक सरोकारका विषयमा चासो लिइरहेका छन् । पुरिएको टुकुचा खोज्ने, अवैध संरचना भत्काउन काम गरिरहेका साहको अबको ध्यान तीनकुनेतर्फ रहेको संकेत उनले गरेका छन् । यसमा उनले अहिले सत्तामा रहेका माधव नेपाल र राष्ट्रपतिबाट बिदा हुने तयारीमा रहेकी विद्यादेवी भण्डारीलाई तीनकुने जग्गाको समस्या समाधानमा काम नगरेको आरोप लगाएका हुन् ।

तीनकुने क्षेत्रसमेत रहेको तत्कालीन काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा एमाले महासचिव मदन भण्डारीले चुनाव जितेका थिए । २०४८ सालमा तीनकुने जग्गा मुआब्जा विवाद आफूले चाँडै टुंगोमा पुर्‍याउन पहल गर्ने बताएका थिए । उनी निर्वाचित भए । तर त्यसको केही समयमा नै उनको दासढुंगा दुर्घटनामा मृत्यु भयो ।

भण्डारीको मृत्यु भएपछि तीनकुने रहेको सहितको निर्वाचन क्षेत्रबाट मदन पत्नि विद्यादेवी भण्डारीले चुनाव जितिन् । उनले पनि सांसदको हैसियतमा समस्या समाधानमा पहल नगरेको आरोप बालेनको छ । पछिल्लो पटक पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तीनकुनेसमेत रहेको काठमाडौं क्षेत्रनम्बर २ बाट चुनाव जिते । उनी सत्तारुढ दलका एक शीर्ष नेतासमेत हुन् । मंसिर ४ मा आउन २ महिना बाँकी रहेकाले समस्या समाधान गर्न बालेनले आग्रह गरेका छन् ।

के हो तीनकुनेको समस्या ? : तत्कालीन पञ्चायत सरकारले २०३१ सालमा तीनकुनेमा जग्गा अधिग्रहण गरेको थियो । पञ्चायत स्मारक बनाउनको लागि उक्त जमिन अधिग्रहण गर्ने निर्णय गरेको थियो । तर स्थानीयले भने मुआब्जा कम दिएको भन्दै छाड्न मानेनन् ।

५३ रोपनी जमिन रहेको तीनकुनेमा सरकारले २१ रोपनीको जग्गाधनीलाई मुआब्जा वितरण गरेको छ । तर, २५ रोपनी जग्गाको मुआब्जामा भने विवाद देखिएको छ । जग्गा धनीले चलनचल्तीको मूल्यअनुरुप मुआब्जा दिनुपर्ने भन्दै लिन अस्वीकार गर्दा समस्या भएको हो । सरकारले पछिल्लोपटक २०५९ असार ३२ मा प्रतिरोपनी ५१ लाख २० हजार रुपैयाँ मुआब्जा रकम तोकेर वितरणको लागि १५ करोड विनियोजन गरेको थियो । तर जग्गाधनीले अस्वीकार गर्दा पैसा फिर्ता भएको थियो ।

मुआब्जाको समस्या समाधानका लागि विभिन्न सरकारहरुले पटकपटक पुनर्मूल्यांकन गरे पनि समस्या समाधान हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!