
काठमाडौं । समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलसहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले निर्वाचन आयोगमा होहल्ला तथा नाराबाजी गरेको आरोपमा अध्यक्ष सफलसहितका ३ जनालाई पक्राउ गरेको हो ।
आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन होहल्ला गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रहरीलाई खबर गरेको आधारमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटा रहेका छन् ।
उनीहरुलाई दरबारमार्ग वृत्तमा राखेर अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी सीताराम रिजालले जानकारी दिए ।
यसैबिच नेपाल समावेशी पार्टी निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउने पहिलो दल बनेको छ । ठुला दलहरूलाई समानुपातिक उम्मेदवारहरू चयन गर्न सकस परिरहेका बेला नेपाल समावेशी पार्टीले १ नम्बरमा उम्मेदवारहरूको बन्द सूची निर्वाचन आयोगमा दर्ता गराएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले आगामी असोज ४ गते बन्दसूचीको जाँचबुझ हुने भएकाले सो दिन दिउँसो २ बजेको समयमा कार्यालयमा उपस्थित हुन पार्टीलाई बोलाएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि आइतबार र सोमबारको समय दिएको छ । प्रायः सबै ठुला दलले भोलिमात्र सूची बुझाउने तयारी गरेका छन् ।