काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारी समितिकी सदस्य तथा निवर्तमान सांसद अम्रिता अग्रहरी नेकपा एमालेमा प्रवेश गरेकी छन् । आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उनलाई ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

अग्रहरीलाई ओलीले माला अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् । निर्वाचन नजिकिएसँगै विभिन्न पार्टीका प्रभावशाली नेताहरुले एमाले प्रवेश गरिरहेका छन् ।

यस्तै प्रतिनिधिसभा र प्रदेशसभाको आयु सकिन एक दिन अगाडि मधेस प्रदेशकी जसपा सांसद डा.रीना यादव केपी ओलीको हातबाट टीका लगाएर नेकपा एमालेमा प्रवेश गरिन् । जसपा केन्द्रीय सदस्यसमेत रहेकी यादव तत्कालीन राष्ट्रिय जनता पार्टीबाट समानुपातिक सांसद थिइन् । पार्टी विभाजनपछि उनी उपेन्द्र यादव नेतृत्वको जसपामा थिइन् ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका युवा नेता सन्जिव झा लगायतसँगको छलफलपछि उनी एमालेमा प्रवेश गरेकी हुन् । पछिल्लो समय युवा नेता झाको नेतृत्वमा एमालेले मधेशका लोकप्रिय फिगरहरुलाई पार्टीमा प्रवेश गराइरहेको छ ।

सांसद रिना यादव प्रवेश गर्नुअघि जसपाकै सांसद अन्जु कुमारी यादव र रुही नाज पनि धनुषाको आमसभामा एमाले प्रवेश गरेका थिए । रुही नाज प्रतिनिधि सभा सदस्य हुन् भने अन्जु प्रदेश सभा सदस्य हुन् । उनीहरु दुवैलाई एमाले अध्यक्ष अ‍ोलीले पार्टीमा स्वागत गरे ।

मधेश प्रदेशका अर्का सांसद प्रल्हाद गिरी पनि नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । पर्साबाट प्रत्यक्ष निर्वाचित गिरी केही दिनअघि अध्यक्ष ओलीलाई भेटेर एमालेमा प्रवेश गरेका हुन् ।

दुवै सदनको आयु सकिनै लाग्दा मधेशवादी दलका धेरै नेता कार्यकर्ता र निवर्तमान जनप्रतिनिधिहरु एमालेमा प्रवेश गरिरहेका छन् । तत्कालीन संघीय समाजवादी फोरमबाट धनुषा २ बाट निर्वाचित भएका र हाल लोसपाको प्रमुख सचेतक रहेका उमाशंकर अरगरिया पनि एमाले प्रवेश गर्ने निश्चित भएको छ ।

उनलाई एमालेमा स्वागत गर्न अध्यक्ष ओली पुनः जनकपुर जाँदैछन् । अरगरीयासँगै जसपा र लोसपाका अन्य सांसदहरु समेत एमाले प्रवेशका लागि संवादमा रहेको बताइएको छ । पर्साबाट निर्वाचित विमल श्रीवास्तव लगायतका नेताहरु समेत एमालेसँग संवादमा छन् ।

केही दिनअघि सुदूरपश्चिम प्रदेशका नेकपा एसका सासद तारा लामा तामाङलगायत पनि एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!