
काठमाडौं । समानुपातिक उम्मेदवारको बन्द सूची बोकेर नेकपा एमालेपनि निर्वाचन आयोग पुगेको छ। आयोगले दिएको निर्धारित समयमै सोमबार एमाले आयोग कार्यालय पुगेको हो ।
एमालेका निर्वाचन विभाग उपप्रमुख निरज आचार्य समानुपाति उम्मेदवारको बन्द सूचि बुझाउन गएका हुन् । उनले संक्षिप्त प्रतिक्रिया दिँदै केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसारको बन्द सूचि तयार पारिएको बताए।
‘हाम्रो केन्द्रीय समितिबाट निर्णय गराएका थियौँ, यसअघि समानुपातिक बनेका उम्मेदवार दोहोर्याउँदैनौं, अहिले कोही पनि दोहो¥याएका छैनौं, सबै यसअघि समानुपातिक नपरेको नेताहरु हुनुहुन्छ,’ आचार्यले भने, ‘प्रतिनिधि ११० र प्रदेश सभामा २२० जना उम्मेदवारको बन्द सूचि बनाएका छौँ।’
निर्वाचन आयोगले आइतबार र सोमबार दुईदिन प्रतिनिधिसभा र प्रदेश सभा तर्फको बन्द सूची बुझाउन समय तोकेको थियो । पहिलो दिन सूची बुझाउन थोरैमात्र दलहरु पुगे पनि दोस्रो दिन प्रमुख राजनीतिक पार्टीसहित अधिकांश पार्टीका नेताहरु सूची बुझाउन आयोग पुगेका हुन् ।
सोमबार एमालेसहित कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा लगायत दलका प्रतिनिधि आयोग पुगेर आयोगको नियमअनुसार धरौटी रकम जम्मा गर्ने र सूची बुझाउने गरेका छन् ।