
काठमाडौँ ।पाँच दलीय गठबन्धनलाई केही निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको सिट बाँडफाँड मिलाउन कठिन हुने देखिएको छ। सोमबार निर्वाचन आयोगमा दलहरुले बुझाएको समानुापतिक तर्फको बन्दसूचीले प्रत्यक्षतर्फको सिटबाँडफाँड सकसपूर्ण हुने देखिएको हो।
कांग्रेसले गठबन्धनका अरु दललाई छाड्नुपर्ने भनिएका मुख्य विवादित क्षेत्रका नेताहरुको नाम बन्द सूचीमा नपारेको पाइएको छ। सिन्धुपाल्चोक १ बाट चुनाव लड्ने तयारीमा रहेका मोहनबहादुर बस्नेतको नाम कांग्रेसको बन्द सूचीमा नरहेको एक नेताले जानकारी दिए।
सिन्धुपाल्चोक १ मा पूर्वसभामुख अग्नि सापकोटाको दाबी छ। अघिल्लोपटक जितेको क्षेत्र त्यही दललाई दिने सहमतिअनुसार सिन्धुपाल्चोक माओवादीले पाउनुपर्ने दाबी छ। बस्नेत वा सापकोटा मध्ये एकलाई समानुपातिकमा राख्दा सहज हुने छलफल भएको थियो। तर बन्द सूची बुझाउँदा दुवैको नाम परेन।
बस्नेतले आफू समानुपातिकमा नबस्ने भएको जिकिर गरे। उनले भने, ‘म चुनाव लड्ने हो। समानुपातिकामा बस्ने मान्छे होइन। क्षेत्रमा गठबन्धन नभए पनि म चुनाव जित्छु। बरु अग्नि जीको नाम सूचीमा राख्ने समय बाँकी नै छ।’
त्यस्तै डोटीका वीरबहादुर बलायर पनि कांग्रेसको समानुपातिक सूचीमा छैनन्। डोटीमा समाजवादीका प्रेम आलेले अघिल्लोपटक चुनाव जितेकाले अहिले उनैले पाउनुपर्ने लगभग सहमति छ। तर बलायरको व्यवस्थापन नहुँदा उनले आफ्नो दाबी नछाड्ने निश्चित छ।
त्यस्तो अवस्थामा डोटीमा सिट बाँडफाँड सकस पूर्ण हुने देखिएको छ। सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा आलेले आफूलाई टिकट कांग्रेसबाट चलखेल भएको भन्दै आपत्ति जनाएका थिए। उनले डोटीमा गठबन्धन नहुने भए अरु जिल्लामा पनि गर्न नहुने भन्दै आक्रोश पोखेका छन्।