
कैलाली । डडेल्धुराबाट समानुपातिक सिफारिसमा परेकी प्रधानमन्त्री पत्नी आरजु राणा देउवा कैलाली ५, बर्दिया २, बाँके ३ र बागलुङ २ बाट प्रत्यक्ष उम्मेदवारको रुपमा सिफारिस भएकी थिइन् । ३ प्रदेशका पाँच जिल्लाबाट सिफारिस भएपनि धेरैले आरजुको रोजाइमा यस पटक पनि कैलाली ५ नै पर्ने अनुमान गरेका थिए । तर, अन्तिम समयमा भने उनी समानुपातिक बस्न राजी भइन् ।
अघिल्लो पटक बाम गठबन्धनबाट उम्मेदवार नारदमुनि रानासँग प्रत्यक्ष निर्वाचनमा होमिएकी राणा ५ हजार बढी मतले पराजित भएकी थिइन् । राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् । अहिले पनि धेरैले राणा र रानाको प्रतिस्पर्धा हुने अनुमान गरेका थिए ।
एमालेबाट रानाको नाम एकल सिफारिस हुँदा कांग्रेसले राणाको नाम सर्वसम्मत सिफारिस गरेको थियो । तर, राणाले समानुपातिक रोजेपछि अहिले प्रत्यक्ष तर्फ कसले टिकट पाउने हो भन्ने बिषयमा चर्चा सुरु भएको छ । कांग्रेस कैलालीमा अहिले सम्म आरजु राणाले समानुपातिक रोजेको भन्ने बिषय आधिकारिक रुपमा जानकारी आएको छैन । त्यसैले गर्दा उनको विकल्पका विषयमा छलफल गर्ने बेला नभएको कैलाली सभापति नारायण दत्त भट्टले बताए ।
‘मैले पनि तपाइहरूकै मिडियाबाट थाहा पाएको हो’ उनले भने ‘अहिले सम्म उहाँले समानुपातिक रोजेको भन्ने आधिकारिक कुरा हामीलाई थाहा छैन । त्यहि भएर उहाँको विकल्पका बिषयमा छलफल गर्ने बेला भएको छैन ।’ सभापति भट्ट पनि अहिले काठमाडौँमा छन् । प्रधानमन्त्री वा प्रधानमन्त्री पत्नीसँग भेट नभएको भन्दै यस बिषयमा उनी अनुत्तरित भए । सभापति समानुपातिकका बिषयमा जानकारी नभए पनि एक पदाधिकारीले आरजु राणाको नाम समानुपातिकमा सिफारिस भएको पुष्टि गरे । ‘हो उहाँको नाम समानुपातिकमा परेको छ । अब त्यहाँ प्रत्यक्ष उम्मेदवार खोजि सुरु हुन्छ ।’
प्रतिनिधि सभामा आरजु राणाको मात्रै नाम सिफारिस भएको हुँदा उनको विकल्पमा सिफारिस नभएका व्यक्तिले टिकट पाउने छन् । यस्तो अवस्थामा धेरैले पुष्कर नाथ ओझाले टिकट पाउने आकलन गरेका छन् । अघिल्लो पटक आरजुलाई हराउन भूमिका खेलेको भन्दै सदस्य समेत नरहने गरि कारबाहीमा परेका ओझाले टिकट नपाउने सम्भावना नरहेको काङ्ग्रेसकै नेताहरू बताउँछन् ।
‘आरजु पछि उहाँले टिकट पाउँछन् भन्ने धेरै छन् । तर त्यो सम्भावना छैन भन्दा पनि हुन्छ’ उनले भने ‘यहाँ कांग्रेस प्रदेश महामन्त्री नरनारायण शाह मनु र सुनिल भण्डारीको सम्भावना बढेको छ ।’ प्रदेश महामन्त्री शाह कैलालीमा दुई पटक सम्म जिल्ला सभापति भइसकेका छन् । यस पटक प्रदेश सभा तर्फ प्रत्यक्ष र प्रतिनिधि सभा तर्फ समानुपातिक सिफारिस भएका शाह आरजुको विकल्प हुन सक्ने कांग्रेस नेताहरू बताउँछन् ।
त्यस्तै भण्डारीलाई पनि उम्मेदवार बनाउन सक्ने धेरैको आकलन छ । भण्डारी अघिल्लो पटक कैलाली क्षेत्र नम्बर ४ बाट बाम गठबन्धनका उम्मेदवार लेखराज भट्ट सँग १० हजार ३ सय ९९ मतान्तरले पराजित भएका थिए । अहिले पनि उनको नाम कैलाली ४ बाट सिफारिस भएको छ । उनी सहित नैन सिंह महर, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा.लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो । तर, कैलाली ४ नेपाली कांग्रेसले पाउँदा वीर बहादुर बलायरलाई लडाउने विषयमा पनि छलफल भइरहेको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ । बलायर कांग्रेस प्रदेश सभापति हुन् ।
‘डोटीका नेकपा एकीकृत समाजवादीले सशक्त दाबी गरिरहेको छ । त्यहाँ प्रेम आलेले पाउने अवस्थामा प्रदेश सभापतिलाई कैलाली ४ ल्याउने बिषयमा पनि छलफल चलिरहेको छ’ कांग्रेस स्रोतले भन्यो ‘त्यस्तो अवस्थामा कैलाली ४ मा सिफारिस हुनु भएका सुनिल भण्डारी आरजुको क्षेत्रमा आउन सक्नु हुन्छ ।’भण्डारी प्रधानमन्त्री देउवाका समकालीन हुन् ।
कैलालीका ५ मा आरजुको विकल्पमा हाल प्रदेश सभा सदस्य रहेका डिल्लीराज पन्त पनि उम्मेदवार बन्न सक्ने बताइएको छ । कांग्रेस कैलालीका सचिव केशव मिश्र भने आरजु राणा देउवा समानुपातिकमा रहेको कुरा आधिकारिक जानकारी नआएको भन्दै यदि त्यस्तो भएका प्रतिनिधि सभाका लागि आकांक्षीहरु धेरै हुन सक्ने बताउँछन् । ‘उहाँलाई हामीले भावी प्रधानमन्त्रीको रुपमा हेरेर एकल नाम सिफारिस गरेका हौँ । उहाँ समानुपातिक बस्ने भएपछि यहाँ धेरै आकांक्षी हुन सक्छन्’ उनले भने ‘हामी पनि त्यो पदको लागि योग्य छौँ । ’
अहिले आरजु राणा देउवाको नाम समानुपातिकमा सिफारिस भए लगत्तै उनको क्षेत्रका प्रत्यक्ष तर्फको उम्मेदवारको चर्चा भइरहेको बेला १६ गते पछि फेरी उनी प्रत्यक्षमा आउन सक्ने केही नेताहरू दाबी गर्छन् । ‘निर्वाचन आयोगले दलहरूलाई समानुपातिक सूचि सच्याउन दिएको समयमा फेरी उनको नाम समानुपातिकमा नरहन सक्छ’ कांग्रेसका एक नेताले भने ‘अहिले नै आरजु प्रत्यक्ष नलड्ने भनिइन भनेर भन्दा हतार हुन सक्छ ।’