दाङ । संसदीय चुनाव घोषणा हुनभन्दा अघिदेखि नै चर्चामा रह्यो दाङ क्षेत्र नम्बर २ । ५ वर्षअघि भएको चुनावमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा एमालेको सहयोगमा प्रतिनिधि सभा सदस्य बनेका थिए। महरा प्रतिनिधि सभामा जाँदा हालका एमाले महासचिव शंकर पोखरेलले यही क्षेत्रअन्तर्गतको प्रदेश सभा सदस्यमा लडेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्न सफल भएका थिए।

अघिल्लोपटक मिलेर चुनाव लडेका पोखरेल र महरा यसपटक भने प्रतिस्पर्धी हुने चर्चा थियो। तर अब महरा शंकर पोखरेलको प्रतिस्पर्धी नबन्ने भएका छन्। प्रतिनिधि सभाको निर्वाचन लड्न दाङ क्षेत्र नम्बर २ मा शंकर पोखरेल एकल सिफारिस भएका छन्। प्रत्यक्षतर्फको उम्मेदवारी सिफारिस हुँदा माओवादी उपाध्यक्ष महरा भने एकल सिफारिस भएनन्।

माओवादी केन्द्रले दाङ २ बाट महरासहित पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र जिल्ला इन्चार्ज निर्मल आचार्यको नाम सिफारिस गरेको छ। सत्ता गठबन्धनका दलबीच भएको सहमतिअनुसार दाङ क्षेत्र नम्बर २ माओवादी केन्द्रकै भागमा पर्ने सम्भावना छ। त्यसो भएमा शर्मा र आचार्यमध्ये एक जना पोखरेलको प्रतिस्पर्धी हुने देखिन्छ। यी दुईमध्ये बढी सम्भावना रेखा शर्माको छ। रेखा समानुपातिकतर्फकी निवर्तमान सांसदसमेत हुन्।

२०७० सालको संविधान सभामा पनि उनी समानुपातिक सभासद बनेकी थिइन्। २०७२ सालमा केपी ओली नेतृत्वको पहिलो सरकारमा रेखा सामान्य प्रशासनमन्त्री बनिन्। माओवादी केन्द्रले समानुपातिकतर्फ नाम नदोहोर्याउने निर्णय गरेको छ। दुईपटक समानुपातिक सांसद भएकी रेखा यसपटक फेरि समानुपातिक सूचीमा पर्दिनन्। त्यसैले उनी दाङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष उम्मेदवार बनेर शंकर पोखरेलको प्रतिस्पर्धी बन्ने सम्भावना छ।

यता माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज निर्मल आचार्यले अहिलेसम्म सांसद बन्ने अवसर पाएका छैनन्। यसैले यसपटक आचार्यलाई पार्टीले अवसर दिन पनि सक्ने सम्भावना छ। एमाले दाङ जिल्ला अध्यक्ष सुवास पुनले पहिले जितेको दाङ २ सत्ता गठबन्धनभित्रको भागबन्डामा माओवादी केन्द्रले नै पाउने बताए।

उनले भने, ‘यो क्षेत्र गठबन्धनमा माओवादी केन्द्रले नै पाउँछ।’ कृष्णबहादुर महरा प्रत्यक्ष चुनाव लड्ने भएको भए शंकर पोखरेलसँग प्रतिस्पर्धा हुने थियो। पोखरेलको प्रतिस्पर्धी बनेका भए एमाले कार्यकर्ताहरूले रोशनी काण्डलाई चुनावी मसला बनाउन सक्थे। अर्कातर्फ पटकपटक चुनाव जितिरहेका महरा माओवादीभित्र प्रभावशाली नै मानिन्छन्। महराजस्तो ‘हेभिवेट’ उम्मेदवार नहुँदा पोखरेलका लागि केही सहज पनि हुन सक्छ।

२०७४ सालमा दाङ क्षेत्र नम्बर २ मा एमालेको समर्थनमा कृष्णबहादुर महरा ४० हजार ४२ मत पाएर प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका राजु खनालले २५ हजार ८९७ मत ल्याएका थिए। यो क्षेत्रमा घोराही उपमहानगरको वडा नम्बर ४, अनि ६ देखि १९ सम्मका वडा, तुलसीपुर उपमहानगरका १६ देखि १९ सम्मका वडा र बंगालाचुली गाउँपालिका पर्छन्। घोराहीका १५ वटा वडामध्ये नौवटामा वडाध्यक्ष पद एमालेले जितेको छ। पाँचवटामा कांग्रेस र एउटामा माओवादी केन्द्र विजयी भएका छन्।

यस्तै तुलसीपुरका चारवटा वडामध्ये दुईवटामा एमाले एउटामा कांग्रेस र एउटा स्वतन्त्र उम्मेदवारले वडाध्यक्ष पद जितेका छन्। बंगलाचुलीका आठवटा वडामध्ये एमालेले कुनै वडामा जितेको छैन भने कांग्रेस र माओवादी केन्द्रले चाररचारवटा वडामा वडाध्यक्ष पद हात पारेका छन्।

यो क्षेत्रमा एमालेका वडाध्यक्षका उम्मेदवारहरूले जम्मा ३३ हजार ५९३ मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवारहरूले २३ हजार ३०१, माओवादी केन्द्रका उम्मेदवारहरूले १० हजार ४७८ मत र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरूले २ हजार ९४२ मत पाएका छन्। वडाध्यक्षहरूले पाएको मत हेर्दा दाङ क्षेत्र नम्बर २ मा एमाले बलियो देखिन्छ। कांग्रेस र माओवादी केन्द्रको मत मिलाउँदा पनि एमाले एक्लैको लगभग हाराहारी देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!