काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालसहित ११ जना महिला स्थायी समिति सदस्य छन् । अधिकांश समानुपातिकमा धेरै पटक भइसकेकाले पुनः समानुपातिकमा दोहोरिने सम्भावना कम छ । यस्तो अवस्थामा कि प्रदेश कि प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव लड्नु पर्ने बाध्यता छ ।

पार्टी स्थायी समितिमा भएका ११ जनामध्ये ६ जना प्रत्यक्ष चुनाव लड्ने तयारी गरेका छन् । अरू स्थायी समितिमा भएका ५ जना चुनावै नलड्ने बताएका छन् ।स्थायी समिति सदस्य एवम् भूमि सुधार मन्त्री शशी श्रेष्ठ चुनाव लड्ने तयारी गरेकी छैनन् । श्रेष्ठ यो पटकको चुनाव लड्ने तयारी नगरेको उनको सचिवालयले जनाएको छ । उनी २०७४ सालको चुनावमा समानुपातिक सांसदमा बसेकी थिइन् । यसअघि स्वास्थ्य राज्य मन्त्री मात्रै भएकी थिइन् ।

स्थायी समिति सत्या पहाडी यो पटक प्रत्यक्ष चुनाव लड्ने तयारीमा छैनन् । पेट सम्बन्धी बिरामी भई दिल्लीमा उपचाररत छिन् । पुरानै रोग बल्झिएकाले पहाडी चुनाव लड्ने योजनामा नभएको उनी निकट नेताहरूले बताएका छन् ।

पहाडी पहिलो संविधान सभा २०६४ सालको चुनावमा डोल्पाबाट प्रत्यक्ष चुनाव जितिन् । लगतै शान्ति तथा पुनर्निर्माण मन्त्रीको जिम्मेवारीसमेत सम्हालिन् । दोस्रो संविधान सभा २०७० सालको चुनावमा डोल्पाबाट पराजित भइन् भने २०७४ सालको चुनावमा समानुपातिक सांसद भइन् ।

यस्तै स्थायी समिति सदस्य यशोदा सुवेदी समेत प्रत्यक्ष चुनाव लड्ने तयारी गरेकी छैनन् । पहिलो संविधान सभा २०६४ साल र २०७४ सालको चुनावमा समानुपातिक सांसद थिइन् । अब हुने चुनावमा भने सुवेदी चुनाव लड्ने तयारी नगरेको उनी निकट नेताहरूले बताएका छन् ।

यस्तै स्थायी समिति सदस्य पूर्णकुमारी सुवेदीले चुनाव लड्ने तयारी नभएको बताइन् । ‘मैले प्रदेश र प्रतिनिधि सभा कतै चुनाव लड्ने तयारी गरेको छैन,’ कुरा गर्दै सुवेदीले भनिन्,‘पार्टीले चुनाव लड्न आग्रह गरेर लड्न पनि सक्छ । नभए तत्काल चुनाव लड्ने कुनै योजना छैन ।’

सुवेदी पहिलो संविधान सभा चुनावमा बाँकेबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन । दोस्रो संविधान सभा चुनावमा पराजित भएकी थिइन् भने २०७४ सालको चुनावमा समानुपातिक सूचिमा परेर सांसद भएकी थिइन् ।

यस्तै स्थायी समिति सदस्य अमृता थापा मगरले चुनाव लड्ने तयारी नगरेको बताएको छ । थापा मगरले चुनाव लड्न चर्चा समेत गरेकी छैनन् । उनी पहिलो संविधान सभा २०६४ साल र २०७४ सालको चुनावमा समानुपातिक सांसद भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!