काठमाडौं । विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ ।

कैलाली जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता यज्ञराज जोशीले डा. केसीलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको बताए ।

स्वास्थ्यमा जटिलता देखिएपछि डा. केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ ।

स्वास्थ्यामा जटिलता देखिएको र धनगढीमा उपचार हुन नसक्ने भएपछि काठमाडौं लैजान हेलिकप्टर मगाइएको प्रवक्ता जोशीले बताए । उनले भने, ‘उहाँको स्वास्थ्यमा धेरै नै समस्या देखियो । यहाँ उपचार हुन नसक्ने देखिएपछि सेनाको हेली मगाएका हौँ ।’ उनका अनुसार काठमाडौंबाठ सेनाको हेलिकप्टर उडिसकेको छ ।

९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित अनसन बसेका केसीको दोस्रो दिनदेखि नै स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो ।

औषधि सेवन नगर्दा उनको स्वास्थ्य स्थिति गम्भीर भएकाले प्रादेशिक अस्पतालले मंगलबार बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई विशिष्ट स्वास्थ्य सुविधा भएको अस्पतालमा लैजान सामाजिक विकास मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग र संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी पठाएको छ ।

यसैबीच अनशनरत डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच मंगलबार काठमाडौंमा वार्ता सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!