
काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज नेकपा एमाले प्रवेश गर्ने भएका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
एमाले नेता विशाल भट्टराईका अनुसार खनालसँगै अन्य केही पूर्व राष्ट्रसेवकहरूलाई ओलीले पार्टीमा स्वागत गर्दैछन् । ‘खनालसहित केही पूर्वराष्ट्र सेवकहरू आज एमाले प्रवेश गर्दै हुनुहुन्छ । पार्टी कार्यालयमै स्वागतको कार्यक्रम छ’, भट्टराईले भने ।
खनालले आगामी मंसिर ४ मा हुने चुनावमा उम्मेदवार बन्ने सम्भावना भने नरहेको भट्टराईले बताए । ‘यो चुनावमा उहाँ उम्मेदवार बन्ने होइन । पार्टीमा लागेर देशको सेवा गर्छु भनेर आउनु लाग्नुभएको हो’, भट्टराईले भने, ‘टिकटको आसले आउने भए त उहाँ अस्ती नै आइहाल्नुहुन्थ्यो नि ।’
भट्टराईका अनुसार समानुपातिकको बन्दसूची पेस भइसकेको र प्रत्यक्षका लागि उम्मेदवार सिफारिसको काम सकिएको अवस्थामा खनाललाई यो चुनावमा उम्मेदवार बनाउने सम्भावना छैन ।