काठमाडौं । नेकपा एमालेकी केन्द्रीय केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले नुवाकोट मंसिर ४ मा हुने चुनावमा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा क्षेत्र ९ख० बाट उम्मेदवार हुन पार्टीमा दाबी गरेकी छन्। एमालेको दसौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी तिम्सीनाले टिकट पाइन भने यो उनको पहिलो चुनावी अनुभव हुनेछ।

उनले गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि नुवाकोटको तारेश्वर गाँउपालिकाको अध्यक्षमा दाबी गरेकी थिइन्। तर उनी उम्मेदवार हुन पाइनन्। पार्टीले उनलाई टिकट दिएन।

महिलाहरुले चुनावमा प्रत्यक्षतर्फ दाबी नै किन कम गर्छन् भन्ने खोजी गरिनुपर्ने उनी बताउँछिन्। ‘राजनीतिमा महिला त छन्। तर निर्वाचन प्रणालीको कारण उनीहरु पैसा र शक्ति प्रयोग गर्न सक्दैनन्। अर्कोतिर संविधानमा जे संकल्प गरिएको छ, दलहरुले यसलाई लागु गर्न चाहँदैनन्,’ उनले भनिन्, ‘संसदमा आएकाहरुलाई पनि कति संरक्षण गर्यौ भन्ने पनि हो। आम रुपमा दलहरु महिलालाई अघि बढाउन संवेदनशील छैनन् भन्ने बुझिन्छ। महिलाहरुको प्रत्यक्षमा नगन्य मात्रामा दाबी छ। त्यसैले टिकट दिनुपर्छ भन्ने मेरो भनाइ हो।’

उम्मेदवार हुन महिलाहरूले दाबी नै कम गरेकोले दाबी गरेका आफूहरूलाई पार्टीले टिकट दिनुपर्ने अर्की केन्द्रीय सदस्य रचना खड्काले बताइन्। बागमती प्रदेश सभा सांसद र मन्त्रीसमेत भएर काम गरेकी उनले दोलखाबाट प्रतिनिधि सभा उम्मेदवार बन्न चाहेको बताइन्।

उनले महिलालाई समानुपातिकमा मात्रै सीमित गर्न नहुने बताइन्। ‘मैले जिल्लाको बैठकमा पनि भनिसकेको छु, समानुपातिकमा महिला अनि प्रत्यक्षमा पुरुष नगरौं। यो बाध्यता जस्तो होइन। बरु हाम्रै पुरुष साथीलाई जसरी पनि समानुपातिकमा राख्न हामी पहल गर्छौ भनेरसमेत भनेको छु,’ उनले भनिन्, ‘सबैतिर नयाँ पुस्ता खोजिएको छ। म आफैँ केन्द्रीय सदस्य भएको १० वर्ष भयो। त्यहीँ हुर्किएँ, राजनीति गरेँ। अब प्रत्यक्षबाटै आउनुपर्छ भन्ने सोचेको छु।’

यसअघि समानुपातिकमा रहेका महिलालाई अब प्रत्यक्षमा अघि नबढाउने हो भने यसको समानुपातिक प्रणालीकै अर्थ नहुने उनको भनाइ छ। यस्तै काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवार हुन दाबी गरेकी नविना लामा २०७४ मा समानुपातिक सांसद भएकी थिइन्।

एमाले केन्द्रीय सदस्य रहेकी उनी यसपटक प्रत्यक्ष रुपमा चुनाव लड्न चाहान्छिन्। अनेरास्ववियुको अध्यक्ष पनि भइसकेकी लामाले अहिलेसम्म आमचुनाव लडेकी छैनन्। ‘महिलाहरुले अब प्रत्यक्षमा पनि निर्वाचन लड्ने आँट गर्नुपर्छ। मैले स्वतन्त्र विद्यार्थी युनियनको सदस्यदेखि सभापतिसम्म चुनाव लडेको छु। जितेको पनि छु,’ उनले भनिन्, ‘अनेरास्ववियुको पनि केन्द्रीय सदस्यदेखि अध्यक्षसम्म निर्वाचन जितेको छु। अब जनताको बीचमा जान चाहन्छु। पार्टीले यो अवसर दिन्छ भन्ने अपेक्षा छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!