काठमाडौं । २०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा कपिलवस्तु–१ बाट निर्वाचित भएका थिए नेकपा माओवादी केन्द्रका चक्रपाणि खनाल ‘बलदेव’ । नेकपा एमालेले समर्थन गरेपछि खनालले कठीन जीत निकालेका थिए । नेपाली कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्याय थोरै मतले पराजित भएका थिए ।

यसपटकको चुनावमा अघिल्लो पटकका प्रतिस्पर्धी उपाध्याय र खनालमध्ये कसलाई टिकट दिने भन्नेमा सत्ता गठबन्धनलाई टाउको दुखाइको विषय बनेको छ । यसअघि माओवादीले नै चुनाव जितेको ठाउँबाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा चुनाव लड्दैछन् । विगतमा माओवादीले जिते पनि अहिले गठबन्धनले सहमति गर्न नसकेको क्षेत्र कपिलवस्तु–१ पनि हो । विगतमा ९४७ मतले पराजित उपाध्याय र जितेका खनालको यहीँ क्षेत्रबाट प्रतिनिधि सभाको लागि दुवै पार्टीले सिफारिस गरेका छन् ।

कांग्रेसको तर्फबाट पहिलो नम्बरमा उपाध्यायको नाम सिफारिस भएको छ । त्यसपछि क्रमशः मेवालाल यादव, दुर्गाबहादुर केसी, अतहर कमाल मुसलमान रहेका छन् तर कांग्रेसले टिकट पाउने अवस्था आएमा दीपकुमार नै उम्मेदवार बन्नेमा विवाद छैन । यसअघि जीत निकालेका कारण यो क्षेत्रमा माओवादीको दाबी रहे पनि माओवादी नेताहरू आगामी निर्वाचनमा जीत हासिल पार्नेमा ढुक्क छैनन् । कृषिमन्त्री समेत बनेका खनालले जिल्लाको विकास र किसानका पक्षमा काम गर्न नसकेको क्षेत्रवासीको गुनासो र आलोचना सहनु परिरहेको छ ।

अबको निर्वाचनमा यो क्षेत्रबाट उपाध्याय र खनालमध्ये कसले गठबन्धनबाट टिकट पाउला क्षेत्रवासीको आम चासो छ । स्थानीय तह निर्वाचनमा प्राप्त मतका कारण कांग्रेस कार्यकर्ताहरू यो क्षेत्र छाड्न नहुने अडानमा छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले सबैभन्दा धेरै मत पाउँदा माओवादी चौथो नम्बरमा खुम्चिएको छ । कांग्रेसको २८ हजार २७१ मत पाउँदा एमालेले २६ हजार ८२३ मत पाएको छ । माओवादीभन्दा धेरै जसपाले १३ हजार ५१० पाउँदा माओवादीले ९ हजार ३३८ मत पाएको छ ।

कपिलवस्तु–१ माओवादीलाई दिँदा यो क्षेत्रमा स्वतः एमालेका उम्मेदवारको जीत हुने कांग्रेसकै नेताहरूको चिन्ता छ । ‘कांग्रेस एकल बहुमतमा रहेको र दाबी गरेको माओवादीभन्दा ३ गुणा धेरै भोट छ, टिकट दिएर मात्र हुन्छ र ? कांग्रेसमा भोट हालेका सबैले दिन्छन् भन्ने के ग्यारेण्टी ?’ कांग्रेसका एक जिल्ला स्तरका नेताले भने ।

यो क्षेत्रमा एमालेले केन्द्रीय सदस्य तथा पूर्व सांसद बलराम अधिकारीलाई अगाडि सार्ने चर्चा छ । कपिलवस्तुवासी जनतासँग उपाध्याय र खनालको पृष्ठभूमि र राजनीतिक छविबारे प्रस्ट छन् । खनालप्रति कार्यकर्तादेखि स्थानीय रूष्ट देखिएका छन् भने उपाध्याय शालीन नेता भएकाले आउँदो निर्वाचनमा उनी अनुकूल माहोल देखिएको समेत केही स्थानीयले बताए । उपाध्यायलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि तयारी गर्न इशारा दिएका छन् ।

यता गौतमबुद्ध होटलका सञ्चालक शाहले बजार क्षेत्रका सडक निर्माण लगायतले पारेका समस्याबारे पटक–पटक खनाललाई जानकारी गराउँदा समेत चासो नदिएको गुनासो गरे ।

‘बलदेव चुनाव जितेर फर्किएर आउँदै आउनुभएन । अब फेरि यहीँ क्षेत्रबाट चुनाव लड्ने कुरा सुन्छु, त्यति सहज म देख्दिनँ,’ शाहले भने, ‘अन्य जिल्ला सदरमुकाम कति विकसित भइसके । यहाँको अवस्था धेरै पछि छ ।’

‘छाडा चौपायाका समस्या, औद्योगिक क्षेत्रका विकासमा धेरै नीतिगत काम गर्न उहाँ (खनाल) ले सक्नुहुन्थ्यो, त्यसतर्फ उहाँ लाग्नुभएन,’ शाहले थपे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!