काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली न्यायाधीशले जस्तो फैसला सुनाउँदै नहिँड्न सुझाव दिएका छन् । मंगलबार काठमाडौं महानगरपालिकामा आयोजित चुनावी सभार्ला सम्बोधन गर्दै महामन्त्री थापाले एमाले अध्यक्ष ओली न्यायाधीशको शैलीमा प्रस्तुत भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

‘चुनाव भनेको प्रश्न गर्ने, जवाफ खोज्ने बेला हो । चुनावमा पनि नेताले नै आएर प्रश्न गर्छ भने त्यसको अर्थ छैन,’ उनले भने, ‘नेता न्यायाधीश होइन । एमालेको अध्यक्ष तथा पूर्वप्रधाानमन्त्री केपी शर्मा ओली न्यायाधीश होइन, अभियुक्त हो । यो बेलामा उहाँ कठघरामा उभिनुभएको बेला हो । फैसला सुनाउने पालो जनताको हो ।’

थापाले पाँच वर्ष गरेका कामको जवाफ जनताले माग्नुपर्ने बताएका छन्। ‘वैशाख ३० गते जनताले फैसला सुनाउने हो । फैसला सुनाउने तागत जनताले राखेनन् भने निर्वाचनको अर्थ हुँदैन,’ उनले भने ।

अबका चुनावमा एमालेको सजाय पाउने पालो भएको थापाको भनाइ थियो । २०५१ मा कांग्रेस र २०७० सालमा माओवादीले झैं २०७९ सालमा एमालेले जनताबाट सजाय पाउनुपर्ने उनले बताए । ‘पाँच वर्ष एमालेले देश चलाए जस्तै काठमाडौं महानगरपालिका चलायो,’ उनले भने ।

कोरोनाको समयमा जनता लकडाउनमा भएका बेला र चार सय किलोमिटर हिँडेर श्रमिक सिन्धुपाल्चोकबाट कैलाली जाँदै गर्ता त्यतिबेलाको सरकारको नेतृत्व गरिरहेको नेकपा सांसद अपहरण गरिरहेको थापाले बताए ।

‘सरकार चलाउनेले मास्क, पीपीई, स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्ने ? अपराधी, चोरले पनि आफ्नो भन्सार खोलेर दिन्छ भन्छ महामारी लागेको बेला । मास्कमा पैसा खाने सरकार, कतार र मलेसियामा अलपत्र बनेर बसिरहेका युवकहरूलाई चार्टर्ड फ्लाइटमा काठमाडौं ल्याउँदै गर्दा त्यसमा ठग्ने सरकार । पाँच हजार मानिसलाई मृत्यु वरण गराउने सरकार,’ उनले भने, ‘तपाई र म लकडाउनमा थियौं काठमाडौंमा, त्यो बेलामा नेकपाको सरकारले सांसद अपहरण गर्दै थियो । त्यो बेलामा संसद् भंग गर्दै थियो । चार सय किलोमिटर हिँडेर श्रमिक सिन्धुपाल्चोकबाट कैलाली जाँदै थियो, हामी लकडाउनमा थियौं सरकार संसद् अपहरण गर्दै थियो । त्यो दिन बिर्सिने हो ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!