
काठमाडौं । आज राति १२ बजेदेखि मौन अवधि लागु हुँदैछ। मौन अवधिमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ।
मंगलबार आयोगको पत्रकार सम्मेलनमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार र मतदाता के चाहिँ गर्न पाउँछ भन्ने प्रश्नमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सुरुवात उम्मेदवारले के गर्न पाउने भन्नेबाट उत्तर सुरु गरे। ‘हरेक उम्मेदवारले मनमनै मैले चुनाव जित्छु कि जित्दिन होला ? मैले कस्तो प्रचार गरेको छु भनेर स्मरण गर्न र समीक्षा गर्न पाउँछ,’ उनले व्यंग्यात्मक शैलीमा भने।
दोस्रोमा उनले मतदाताहरु परिचय पत्र लिन मतदान केन्द्रमा जान पाउने बताए। ‘परिचयपत्र लिन जाँदा त्यहाँ हामीले दुई दिन मतदाता शिक्षाका लागि स्वयंसेवक र कर्मचारीबाट आवश्यक बन्दोबस्त गरेका छौं। कसरी सही ठाउँमा मतदान गर्ने, स्वस्तिक कसरी लगाउने, मतपत्र कसरी पट्याउने भनेर सिक्न जाने र जानैपर्ने हो,’ उनले भने।
मतदाताले कुन उम्मेदवार ठिक हो भन्ने मूल्यांकन गर्न पनि पाउने उनले बताए। ‘कुन उम्मेदवारले के भने यो बीचमा, उनीहरुको अनुहार सम्झिने, चिह्न सम्झिने र अन्य सबै कुरा सम्झिएर आफ्नो विवेकको ऐनामा त्यसलाई हेर्ने अनि भोलिपल्ट ट्याक्क तयारीका साथ जाने, भटाभट राम्रो मान्छेलाई निर्वाचनमा आफ्नो मत प्रकट गर्ने, मतपेटिकामा मत हाल्ने आउने,’ उनले भने, ‘गर्न पाउने भनेको यिनै हुन्। यिनै विषयसँग जोडिएका विषय गर्न सकिनेछन्। तर निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि किसिमका कार्यहरु गर्न सकिन्न्।’
उनले सञ्चारमाध्यमले के गर्ने भनेर समेत उल्लेख गरे। ‘आयोग, आयोग मातहत अनुगमन संयन्त्रहरु, सुक्ष्म अनुगमनका निम्ति खटाइएका हाम्रा टोलीहरु, अधिकृतको कार्यालयहरु, मतदानमा खटिएका हाम्रा कर्मचारीहरु, नागरिक समाजका संस्थाहरु र आम सञ्चार क्षेत्रले यो मौन अवधिमा को को मौन बस्दा रहेछन्रु को को चलखेल गर्दा रहेछन् भनेर खबरदारी गर्ने, निगरानी गर्ने, सूचना दिने, ठाउँको ठाउँ ठिक लगाउने,’ उनले भने।
निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदैछ। आयोगले मतदानको समयभन्दा ४८ घन्टा अगाडि मौन अवधि तोकेको हो।
के गर्न पाइँदैन ? : आयोगकाअनुसार यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन।
राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री राखिएको भए तत्काल हटाउन पर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमवाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन पाइँदैन।