
कञ्चनपुर । सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कार्यकर्ता बीचमा झडप हुँदा लालझाडी गाउँपालिका–१ का माओवादी केन्द्रका उम्मेदवार दिनेश राना घाइते भएका छन् ।
कञ्चनपुरको लालझाडीमा एमालेका युवाहरुको आक्रमणबाट घाइते भएका रानालाई उपचारका लागि धनगढी स्थित मायामेट्रो अस्पताल भर्ना गरिएको छ ।
एमालेका कार्यकर्ताले कञ्चनपुर क्षेत्र नम्बर–१ कि सांसद बिना मगर लालझाडी गाउँपालिका–१ मा गएर भोट मागेको निहुँ बनाएर विवाद गरेका थिए । मौन अवधीमा जम्मा भएर कार्यक्रम गरेको विषयमा विवाद हुँदा झडप भएको कञ्चनपुरका एसपी श्यामसिंह चौधरीले बताए ।
उनले भने–‘एउटा समूह जम्मा भएको थाहा पाएपछि अर्को समूहले विरोध गरेर आक्रमण गरेको देखिन्छ, आक्रमणमा परेर एकजना घाइते भएका छन् ।’
यता माओवादी केन्द्रले स्थानिय रामप्रसाद रानाको घरमा उनको छोरा रोहित रानाको जन्म दिनको अवसरमा पूर्व मन्त्री मगरलाई खान खान निम्ता गरिएको दाबी गरेका छन् । पूर्वमन्त्री बीना मगरले मौन अवधिमा चुनाव प्रसार गर्न गएको विषय अनावश्यकरूपमा अतिरञ्जित गरिएको बताएकी छिन् ।