
काठमाडौं । देशभरका ७५३ स्थानीय तहमा ३५ हजार २२१ जना नयाँ जनप्रतिनिधिका लागि यहि बैशाख ३० गते शुक्रबार स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचन गराउनका लागि खटिएका निर्वाचन अधिकृतहरू तोकिएको स्थानमा पुगिसकेका छन् । उम्मेदवारलाई जिताउनका लागि राजधानीबाट मतदाताहरू आफ्ना घरगाउँमा पुग्नेक्रम जारी छ ।
निर्वाचन र मतदातालाई सहज गराउनका लागि सरकारले दुई दिन सार्वजनिक बिदा दिएको छ । स्थायी सरकार मानिएको स्थानीय तहको निर्वाचनमा योपटक सत्तागठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
निर्वाचन आयोगका अनुसार शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान हुँदैछ । शुक्रबार हुने स्थानीय तह निर्वाचनमा देशका शिर्ष नेताहरु मतदान गर्न आफ्नो गृह जिल्ला लागिसकेका छन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिन यता गृहजिल्ला डडेल्धुरामा रहेका छन्।
चुनावी अभियानका क्रममा डडेल्धुरा पुगेका देउवा भोलि मतदान गरेर मात्र काठमाडौं फर्कने जनाइएको छ। उनले गन्यापधुरा गाउँपालिका १ आसिग्राममा मतदान केन्द्रबाट मतदान गर्नेछन्।
त्यस्तै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संसदीय निर्वाचन क्षेत्र झापा ५ भएपनि उनको मतदाता नामावली भक्तपुर सुर्यविनायक नगरपालिकाको बालकोटमा रहेको छ। ओलीले त्यहीँबाट मतदान गर्नेछन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नं १४, शान्तिपुरबाट मतदान गर्नेछन्। प्रचण्ड संसदीय निर्वाचनमा पनि चितवनबाट नै प्रतिनिधित्व गर्छन्। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका वडा नम्वर २ मा मतदान गर्नेछन्। तर उनको संसदीय निर्वाचन क्षेत्र भने काठमाडौं क्षेत्र नम्वर २ रहेको छ।
त्यस्तै अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले इलामको सुर्योदय नगरपालिका वडा नम्वर १ मा मतदान गर्नेछन्। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षले उपेन्द्र यादवले स्नातकोत्तर क्याम्पस, विराटनगर मोरङको मतदानस्थलमा मतदान गर्नेछन्। तर उनको पनि संसदीय निर्वाचन क्षेत्र सप्तरी रहेको छ।
त्यस्तै पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा जिल्लाको पालुङ्टार नगरपालिका वडा नम्वर १ मा मतदान गर्नेछन्। भट्टराईले संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट नै प्रतिनिधित्व गर्छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले भने सर्लाहीको बलरा नगरपालिकाबाट मतदान गर्नेछन्।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँको टोखा नगरपालिका–७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट भोट हाल्दैछन् । पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङले इलाम नगरपालिका–७ को बालमन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
यता एमाले उपाध्यक्ष बिष्णु पौडेलले बुटवल उपमहानगरपालिका–८ बाट मतदान गर्दैछन् । एमाले महासचिव तथा लुम्बिनीका पूर्वमूख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–११ बाट मतदान गर्दैछन् भने पार्टीका सचिव गोकर्ण विष्टले गुल्मीकै इस्मा गाउँपालिकाबाट मतदान गर्दैछन् ।
त्यस्तै पूर्वसभामुख तथा काँग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–२ को सत्यवती मावि केन्द्रबाट मतदान गर्दैछन् ।
काँग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गर्दैछन् । गठबन्धनबाट सिंहकै श्रीमती सिर्जना श्रेष्ठ मेयरमा उठेका छन् ।
कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् । कांग्रेसका नेता शेखर कोइरालालले विराटनगर महानगरपालिकाको आदर्श स्कुल मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस मतदान केन्द्रबाट मत हाल्दैछन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बागलुङको गलकोट नगरपालिका–९, लक्ष्मी नारायण प्रावि मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम रहेको छ ।