
काठमाडौं । बिहानैदेखि स्थानीय तह निर्वाचन भइरहेको छ। केहि स्थानमा झडपको स्थिती समेत सिर्जना भएको छ। झडप भएपछि परिस्थित नियन्त्रण गर्न प्रहरीले केहि ठाउँमा प्रहरीले हवाई फायर गरेको छ। अन्नपूर्ण जिल्ला सम्वाददाताका अनुसार हुम्लाको चंखेली गाउँपालिकामा झडप भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारबीच झडप भएको हो । चंखेलीको महादेव मतदान केन्द्रमा झडप हुँदा प्रहरीले आठ राउन्ड हवाई फायर गरेको थियो । मतदान केन्द्रका अधिकृत कृष्णप्रसाद आचार्य घाइते भएको स्थानीयले बताएका छन् । केहि समयका लागि मतदान रोकिएको छ ।
यस्तै, दोलखाको वैतेश्वर गाउँपालिका १ र २ का मतदान स्थलमा तनावको स्थिति सिर्जना भएको छ । नेपाली कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि तनावको स्थिती सिर्जना भएको हो । अहिले मतदान रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
यस्तै, बाराको देवताल गााउँपालिका वडा नम्बर ७ मा मतदान रोकिएको छ। वडा नम्बर ७ स्थित पिपरपाति प्राविको मतदान केन्द्रमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबीच झडप भएको थियो । झडपमा दुवै दलका वडा अध्यक्षका उम्मेदवार सामान्य घाइते भएका छन् ।
झडप भएपछि स्थगित भएको मतदान कार्य केहिबेर अघिदेखि सुरु भएको हो । प्रहरीका अनुसार लोसपाका वडा अध्यक्षका उम्मेदवार विकास कुमार सिंहले एक वृद्ध मतदाताको मतपत्र लिएपछि त्यही विषयलाई लिएर कांग्रेसका वडा अध्यक्षका उम्मेदवार सत्यन्द्र यादव समूहले विरोध गरेपछि विवादले झडप रुप लिएको हो ।
रामेछापको खाँडादेवी गाउँपालिका १ र मन्थली नगरपालिका १२ मा झडप भएको हो। झडप भएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन हवाई फायर गरेको थियो ।
यस्तै काभ्रेको कात्तिके देउराली वडानम्बर ६ मा मतपेटीका तोडफोड भएको छ । गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’मतदान केन्द्रमा पनि झडप भएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ ।
सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको छ । मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेको थियो । विवाद बढ्दा ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरेको हो ।