काठमाडौं । जारी स्थानीय तह निर्वाचनको केही पालिकाको परिणामअनुसार दलहरूले आफ्नो यसअघिको विजयलाई निरन्तरता दिन नसकेको पाइएको छ । नेकपा एमालेले १४ पालिका प्रमुखमा विजयी बन्दा यसअघि २०७४ सालमा कांग्रेसले जितेका सात र स्वतन्त्र उम्मेदवारले जितेका दुई ठाउँमा आफूले जितेको छ ।

२०७४ सालमा कांग्रेस विजयी भएको मुस्ताङको थासाङ गाउँपालिका प्रमुखमा योपटक एमाले विजयी भएको छ । सो गाउँपालिकामा एमालेका प्रदीप चौचन विजयी भएका हुन् । उनले १ हजार १ सय ४४ मत पाएका विजयी बन्दा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार बालकुमारी शेरचनले १ हजार ५५ मतमा चित्त बुझाउनुपरेको छ । २०७४ सालमा यो गाउँपालिकामा कांग्रेसका बुद्धिप्रसाद शेरचन ७२८ मत ल्याएर विजयी भएका थिए ।

मुस्ताङकै लोमान्थाङ गाउँपालिकाको अध्यक्षमा एमालेका टसी नुर्बु गुरुङ ६ सय ६८ मत पाएर निर्वाचित बन्दा उनका प्रतिस्पर्धी कांग्रेसका टासी गुरुङले ५ सय १४ मत पाएका छन् । २०७४ सालको निर्वाचनमा यहाँ नेपाली कांग्रेसका सुवर्णकुमार विष्ट ६ सय ३ मत पाएर विजयी भएका थिए ।

मुस्ताङकै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका पनि एमालेले कांग्रेसबाट खोसेको छ । यो गाउँपालिका अध्यक्षमा एमालेका रिङजिन नामगेल गुरुङ ८ सय ६७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका आङजेन गुरुङले ५ सय ७७ मत ल्याएका छन् ।

गत स्थानीय तह निर्वाचनमा यो गाउँपालिकामा कांग्रेसका फेन्चोक छेप्तेन गुरुङ ६ सय ५४ मत ल्याएर विजयी भएका थिए ।

उता, म्याग्दीको मालिका गाउँपालिका पनि योपटक कांग्रेसबाट एमालेको हातमा पुगेको छ । यो गाउँपालिका अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा ३ हजार ९१ मत पाएर निर्वाचित भएका छन् । गत स्थानीय तह निर्वाचनमा यो गाउँपालिकामा नेपाली कांग्रेसका श्रीप्रसाद रोकामगर २७ सय ६ मत ल्याएर विजयी भएका थिए । अहिले भने कांग्रेसका श्री प्रसाद रोकामगरले २ हजार ९ सय ७० मत पाएर पराजित बनेका छन् ।

यो निर्वाचनमा कांग्रेसबाट एमालेको पोल्टामा गएको अर्को गाउँपालिका हो नवलपुरको बौदीकाली गाउँपालिका । यो गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा ३ हजार ९ सय ७६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कबहादुर रानाले ३ हजार ५ सय ४१ मत पाएका छन् । यसअघि यहाँ नेपाली कांग्रेसका दुर्गाबहादुर राना ३ हजार १ सय ९१ मत ल्याएर विजयी बनेका थिए ।

बझाङको साइपाल गाँउपालिका पनि योपटक नेपाली कांग्रेसले गुमाउनुपरेको छ । यो गाउँपालिका अध्यक्षमा एमालेका मानवीर बोहोरा ६ सय ७५ मत ल्याएर निर्वाचित भएका छन् । यहाँ कांग्रेसका उजले बोहोराले ६ सय १३ मत पाएर पराजित बनेका छन् । गत स्थानीय तह निर्वाचनमा यहाँ कांग्रेसका राजेन्द्रबहादुर धामी ३ सय ९४ मत पाएर विजयी भएका थिए ।

दार्चुलाको महाकाली नगरपालिकामा योपटक एमाले विजयी बनेको छ । यो नगरपालिका प्रमुखमा एमालेका नरसिंह चैसिर ५ हजार ३ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८८ मत पाएका छन् । २०७४ सालमा यहाँ कांग्रेसले जितेको थियो ।

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा योपटक एमाले विजयी बनेको छ । यो गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट ६ सय ८९ मत पाएर निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा यहाँ स्वतन्त्र उम्मेदवार लोप्साङ छोम्पेल विष्ट ७ सय ५५ मत ल्याएर विजयी भएका थिए ।

मनाङको चामे गाउँपालिका, मनाङकै डिस्याङ गाउँपालिका, डोल्पाको शे फोक्सुन्डो गाउँपालिका, बझाङको थलारा गाउँपालिका, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, स्याङको हरिनाश गाउँपालिकामा योपटक पनि एमाले नै विजयी बनेको छ ।

उता, गोरखाको अजिरकोट गाउँपालिका यो निर्वाचनमा माओवादी केन्द्र विजयी बनेको छ । गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले जितेको यो पालिकामा यसपटक माओवादी केन्द्रका दीपक देवकोटा विजयी भएका छन् । देवकोटा ३ हजार ७ सय ८७ मतसहित विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका गोविन्दबहादुर गुरुङलाई पराजित गरेका हुन् ।

यस्तै, दार्चुलाको अपीहिमाल गाउँपालिका योपटक माओवादीले एमालेबाट खोसेको छ । योपटक अध्यक्षमा सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भगतसिंह ठेकरे (बोहरा) निर्वाचित भएका छन् । मतगणना परिणामअनुसार ठेकरेले २ हजार ३ सय ४ भोट प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार धर्मानन्दसिंह मन्याललाई ९ सय १९ मतान्तरले पराजित गरेका हुन् । पराजित मन्यालले १ हजार ३ सय ८५ मत ल्याएका छन् । उनी २०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए भने ठेकरे पराजित बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!