
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक दलहरुका कार्यशैली सच्चिनुपर्ने बताएका छन् । शुक्रबार बिहान काठमाडौं वडा नम्बर १० कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले राजनीतिक दलहरु विधि पद्धतिभन्दा आफ्नो स्वार्थ उन्मुख भएकाले झन् चुनौती थपिएको बताएका हुन् ।
उनले राजनीतिक दलहरुका कार्यशैली सच्चिनुपर्ने बताउदै प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुको विकल्प नरहेकोसमेत उनको भनाइ छ ।
नेता सिंहले २०४८ सालको निर्वाचनमा कांग्रेस सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकै कारण देश यो दुरावस्थामा पुगेको बताएका छन् ।
‘२०४६ पछिको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक गलत बाटोमा अघि बढेर आज यो दुरावस्थामा पुगेको हो,’ उनले भने । अझै पनि प्राप्त उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेकाले मुलुकका सामु गम्भीर चुनौती देखापरिरहेको समेत बताए ।